/पाँच सिडिओ फेरिए, लमजङमा कृष्णप्रसाद शर्मा

पाँच सिडिओ फेरिए, लमजङमा कृष्णप्रसाद शर्मा

रिसेस, काठमाडौं

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको छ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअ फेरिएका हुन्।

उनका अनुसार हरि पन्तलाई रसुवाको प्रजिअ बनाएर पठाइएको छ भने त्यहाँका प्रजिअ अर्जुन भण्डारीलाई गृह मन्त्रालयमा ल्याइएको छ। सागरमणि पाठकलाई नवलपरासीमा सरुवा गरिएको छ। त्यहाँका प्रजिअ वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याएको छ।

भोलिदेखि अनिवार्य अवकाश हुन लागेका लमजुङका प्रजिअ लक्ष्मण खड्काको ठाउँमा गृह मन्त्रालयका कृष्णप्रसाद शर्मालाई पठाइएको छ।

बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा ल्याइएको छ भने त्यहाँ कृष्ण गैरेलाई पठाइएको छ।

मोहन जोशीलाई बैतडीको प्रजिअ बनाइएको छ। त्यहाँका आनन्द पौडेललाई राष्‍ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा ल्याइएको मन्त्रालयले जनाएको छ।