/कोरोनासम्बन्धित सूचीमा स्वास्थ्य मन्त्रालयको त्रुटि

कोरोनासम्बन्धित सूचीमा स्वास्थ्य मन्त्रालयको त्रुटि

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउन शुक्रबार सार्वजनिक गरेको सूचीमा त्रुटि भएको पत्ता लागेको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको यो तेस्रो त्रुटि हो । शुक्रबार सार्वजनिक सर्लाहीमा १५ संक्रमित थपिएको सूचीमा मन्त्रालयले रामनगर बहुअर्वा गाउँपालिका-७ र गोडैता नगरपालिका गोडैता ८, ९, ११, १३ र १४ उल्लेख छ ।

तर गोडैता नगरपालिकामा जम्मा १२ वटा मात्र रहेको त्यहाँका मेयर देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो । ‘यहाँ १३ र १४ नम्बर वडा नै छैनन्,’ शुक्रबार दिउँसो टेलिफोनमा कुरा गर्दैै मेयर यादवले  भने, ‘यहाँ त जम्मा १२ वटा मात्र वडा छन् ।’

यसअघि गत जेठ १ गते पनि प्रदेश २ कै सूची सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयले पहिलेकै संक्रमितको नाम दोहोर्याको थियो। जसले गर्दा संक्रमितको कूल संख्या वास्तविकभन्दा बढेको थियो ।  पछि अर्को विज्ञप्ति निकालेर ५ जनाको नाम पहिलेकै परेको भन्दै सच्याएको थियो ।

यस्तै यसपछि पनि काठमाडौमा भेटिएका संक्रमितलाई पनि मन्त्रालयले बाहिर जिल्लाको भनेर भन्दा अन्योल सिर्जना भएको थियो ।

टेकु प्रयोशालाको पहिलो त्रुटि

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गोडैताका संक्रमितको सूची पठाउने क्रममा पनि त्रुटि फेला परेको छ ।

मेयर यादवका अनुसार शुक्रबार टेकु प्रयोगशालाले गोडैताका संक्रमितको सूची पठाउने क्रममा १४ जनाको नाम पठाएको छ । तर गोडैतामा १३ जना मात्र संक्रमित भएका हुन् ।

‘यहाँ एक जना उनले नाम भनेका थिए, तर गोपनीयताका लागि यहाँ नलेखिएको० को नाम बढी आएको छ, जो हाम्रो क्वारेन्टिनमै छैनन्,’ उनले भने, ‘यहाँ आज कोरोना संक्रमित देखिएका जम्मा १३ जना मात्र हुन्, ती बढी व्यक्ति कहाँका हुन् हामीलाई थाहा छैन ।’

उनका अनुसार शुक्रबार आएको रिपोर्टअनुसार गोडैता वडा नम्बर ८ स्थित बेनीभोला नमुना माविको क्वारेन्टिनका ११ जना र वडा नम्बर १२ मधुवनीस्थित बैजनाथ माविको क्वारेन्टिनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर टेकु प्रयोगशालाले अर्का एक जनाको नाम पनि गोडैताकै संक्रमित भनेर जिल्ला प्रशासनमा पठाएको उहाँले बताउनु भयो ।

अहिले ती १३ संक्रमितलाई एम्बुलेन्समा हालेर जनकपुरस्थित आइसोलेसनमा पठाउने काममा आफू व्यस्त भएको मेयर यादवले बताउनु भयो ।

‘आफू अहिले संक्रमितलाई अस्पताल पठाउने काममा व्यस्त छु,’ उहाँले भन्नु भयो , ‘मन्त्रालयले गरेको त्रुटि विज्ञप्ति निकालेर खण्डन गर्ने विचार छ, तर भ्याइएकै होइन ।’

आफ्नो नगरपालिका गोडैता भारतको बोर्डरसँगै जोडिएकाले यी सबै संक्रमित तथा क्वारेन्टिनमा रहेका सबै केही दिनअघि भारतका दिल्ली, बम्बईबाट आएकाहरू भएको उनले जानकारी दिनुभयो ।

स्रोतः योहोटिभी