/देश नजोडेको गणतन्त्र

देश नजोडेको गणतन्त्र

भीमसेन घिमिरे

भारतीय गृहमन्त्री राजनाथ सिंहले मे ८, २०२० का दिन नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछी देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सवालमा नेपालीहरु बीच अभूतपूर्व एकता देखिएको छ । यो एकतामा को सरकार ? को प्रतिपक्ष ? को पहाडी ? को मधेसी ? पुर्व मेचीदेखी पश्चिम कालीसम्म र उत्तरमा हिमालयदेखी दक्षिण तराईसम्मका आम नेपालीलाई सिमा विवादले जस्तै विवाद र मतभेत एकढिक्का बनाएको छ ।

आज जेष्ठ १५, आजैका दिन २०६५ मा जनआन्दोलन ०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषण गरेको ठिक १२ वर्ष पुरा भएको छ । २३८ वर्ष लामो शाहवंशीय राजपरम्परा अन्त्यको घोषणा भएको त्यो दिन आम नेपालीहरु बिच अभूतपूर्व एकता, उत्साह र उमङ्ग देखिएको थियो । अहिलेको सिमा विवादमा देखिएको जस्तै एकता । १२ वर्षमा खोलो फर्किन्छ भन्ने नेपाली किंवदन्ती छ । के वितेका १२ वर्षमा नेपालीहरुको अवस्था फेरिए त ? १२ वर्षको यो अन्तरालपछी पनि त्यतिबेलाको अभूतपूर्व एकता, उत्साह र उमङ्ग यथावत छ त ?

आज देश कोभिड–१९ को महामारी र चरम सिमा विवादमा फसिरहेको बेला यस्ता विषयहरु सरकारकालाई मन नपराउने जमातको कुण्ठाको रुपमा विषयान्तर गरिएला तर हिजो गणतन्त्रलाई आफ्नो आशा, सपना, विश्वास, भरोसा तथा अपेक्षाको पर्याय राख्ने आम मान्छेहरुले यसलाई फगत भन्न थालिसकेका छन् । यी भुइँमान्छेहरुको इन्द्रेणीमा यो १२ वर्षको अवधीले कुनै रंङ्ग भर्न सकेन र यो जमात निराश भएर भन्न थालिसकेका छन् –“जुन जोगी आए पनि कानै चिरेका” ।

हिजो आन्दोलनमा जनतालाई हाम्रो विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेद, असमानता सबैको एउटै जड सामान्तवाद हो यानिकी राजतन्त्र भनेर उत्प्रेरित गर्ने नेतृत्वले यो १२ वर्षमा कति नवसामान्त जन्माए कुनै लेखाजोखा छैन । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछी मुलुक तिव्र रुपले आर्थिक गति लिन्छ, रोजगारीको लागी खाडीको ५० डिग्रीको रापमा कुनैपनि नेपाली भौतारिनु पर्दैन । हाम्रा गरिबी, पछौटेपन, सामाजिक विभेद, असमानता दुर हुनेछन् । यि सबैकुरा दिवा सपना भन्दा अरु केही भएन । गणतन्त्रमा केही अभाव र पिडामा बस्नुपर्ने छैन, कसैले अन्याय सहनुपर्ने छैन भनेर दुहाई दिने नेताहरुको निर्देशनमा संसद अपहरण हुन्छ ।

यो गणतन्त्रमा बलात्कार र हत्याको पिडितले न्यायको भिख माग्नुपर्छ । निमुखाको न्याय माथी पहुँच छैन । प्रहरी पिडितको जाहेरी दरखास्त लिन मान्दैन । गणतन्त्रको १२ वर्षको सफरले लोकतन्त्रको सौन्दर्यलाई कुरुप बनाउन थालेको छ, जनताको चेतनालाई साइबर क्राइमको डन्डाले तर्साउन थालेको छ । हेर्नुस निर्मला हत्याकाण्ड, अझै सम्म राज्यले अपराधी पत्ता लगाउन सकेको छैन । खुलेआम भ्रष्ट्रचार हुँदा पनि सरकारलाई थाहा हुँदैन। देशका भिआइपीहरु सरकारी जग्गा हडप्न कम्मर कसेर लागेको यथेष्ट प्रमाण हुँदा पनि राज्य कारबाही गर्न सक्दैन । सरकार आफैले भिआइपी भष्ट्रचार र छानबिनमा अवरोध गर्दै आइरहेको छ । हेर्नुस वाइडबडी काण्ड, ३३ किलो सुन प्रकरण, बालुवाटार जग्गा प्रकरण, पछिल्लो समय औषधी खरिद प्रकरण यसका यथेष्ट प्रमाण हुन । जुन केस सरकार अगाडी बढाउँन चाहदैन । यि र यस्ता समाचारहरु आइरहँदा गणतान्त्रिक देशको मौजुत कानुन आम भुईमान्छेहरुलाई मात्र आकर्षित हुने देखिन्छ । देशले शासनप्रणालीमा क्रान्तिकारी छलाङ्ग मा¥यो । देशमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानता, समावेशी जस्ता कुराहरु संविधानमा लिपीबद्ध भए । संविधानमा मौलिक हकको व्यवस्था छ तर यो देशमा आर्यघाट समेत गरिबको पहुँचमा हुँदैन । त्यहाँ, पैसा नभए गरिबका लास जल्दैनन् ।

देशको सिमाना दिनप्रतिदिन मिचिराखेको छ । कालापानीमा भारतीय रोड बनेको आजको आजै होइन । १ दशक भैसकेको दार्चुलाका सिडियोले स्वंम् भनिराखेका छन् तर राष्ट्रिय अनुसन्धान आयोग लगाएत सम्पूर्ण गुप्तचर संयन्त्र आफ्नो खल्तीमा राख्ने प्रधानमन्त्रीले निर्लज्जका साथ भन्दिन्छन् यसबारे मलाई कसैले जानकारी दिएन । भलै ! सरकारले साहसका साथ नयाँ नक्शा सार्वजनिक गरेको छ ।
यतिबेला लोकतन्त्रमा सरकारलाई खबरदारी गर्नुपर्ने सार्वजनिक संचार संस्थाहरु कुनै राजनितिक दल र व्यक्तिको रुचीमा चलाइएको छ । ती संस्थाका संचारकर्मीहरु उनीहरुको स्थुतीगान गाउनुमा आफ्नो भविष्य देख्छन् । अन्टसन्ट तर्क दिएर जनताको मनोविज्ञानको तेजोबध गर्न ज्यान दिएर लागिपरेका छन् र भ्रमपूर्ण शैलीको माध्यमबाट नेतृत्वको देवत्वकरण गर्छन् अनि एकहुल मानिसहरुलाई पररर ताली बजाउन लागाउँछन् ।

संसारको पुराना देशहरुमध्येमा पर्छ नेपाल । दुईतिर विश्व आर्थिक मञ्चमा उदियमान भिमकाय छिमेकी हुँदा हामी किन पछी परिराखेका छौं ? हामीलाई अगाडी बढ्न कसले रोक्यो ? अव पनि राणालाई, राजालाई दोप दिएर जिम्मेवारीबाट पन्छिन मिल्छ ? के अव पनि हामी हाम्रो मातृभूमी र मौजुत नेतृत्वप्रति गर्व गर्न नपाउने ? गणतान्त्रिक नेतृत्वले यो १२ वर्षमा राष्ट्रिय प्राथमिकता के हो ? जनतालाई के कुराको आवश्यकता छ ? देशको तत्कालिन र दिर्घकालिन आवश्यकता के हो भन्ने तिर कहिल्यै ध्यान दिएन । तर अमुर्त कुरालाई देशको आवश्यकता देख्ने र जनतालाई झुटा सपना देखाउने बाहेक केही गर्न सकेन ।

जलस्रोतको दोस्रो धनि देशको अधिकांश उर्वर भूमिहरुमा खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । एउटा राम्रो सिंचाई आयोजना राज्यको निति तथा कार्यक्रम भित्र पदैन तर सरकार प्रशान्त महासागरमा नेपालको झण्डावाल पानीजहाज र पूर्वपश्चिम चाइनाको चुच्चे रेल कुदाउँछु भनेर कार्यक्रम ल्याउँछ । देशको बस्तुस्थितीबारे सत्ताको बागडोर सम्हाल्नेहरु किन यतिसम्म अनभिज्ञ देखिन्छन् ? एउटा डुङ्गा नभएको संस्थालाई गाडी किन्न करौडौं बजेट विनियोजन गरिन्छ तर बाटोको अभावमा जुम्लाका स्याउहरु बेटमै कुहिनुपर्ने बिडम्बना छ । सत्तामा बस्नेहरुले कहिल्यै पूर्वपश्चिम राजमार्ग सार्वजानिक यातायातमा आउजाउ गरेका छन् ? देशको नेतृत्व किन सोच विचार नै नगरीकन यस्ता सपनाहरुतर्फ आर्कषित हुन्छन् ? जनताको जीवनस्तर उकास्न र मुलुकको कायापलट कसरी हुन्छ भन्ने स्पष्ट खाका नभएपछी यी र यस्ता सपनाहरुको बैशाखी टेक्नुपर्ने हुन्छ ।

देशमा दुई तिहाइको स्थिर सरकार छ । सरकारलाई कहि कतैबाट अवरोध छैन । देशको लागी पनि यो दुर्लभ अवसर हो । एउटा राजनितिक दलको लागी यो अवसर विरलै प्राप्त हुन्छ । के समृद्धीको लागी यो अवसर होइन ? सरकार आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई किन आर्कषित गर्न सकिरहेको छैन ? पुँजी पलायन भैरहेको छ । राज्य लगानी मैत्री वातावरण बनाउन चासो राख्दैन । देशमा रोजगारी सिर्जना गर्नुको सट्टा श्रममन्त्री खाडी राष्ट्रहरुसंग युवाहरुको मोलमोलाई गरिहेका हुन्छन् । जनता एउटै उद्योगको धेरै ठाँउमा कर तिर्न बाध्य छन् । महँगो संघीयताले करको दायरा र दर दुबै बढाएको छ ।

सबैको सम्मान, उन्नती, प्रगती तथा अवसरहरुको न्यायोचित वितरण भयो भने मात्र देश जोडिन्छ । देश जोड्नलाई सबल नीति र नेतृत्व चाहिन्छ । कि ! हरियाली डाँडापाखा, उर्वर खेतहरुमा जनप्रतिनिधीका डोजर लगाएर बनेका धुलाम्मे कच्ची सडकले देश जोडिन्छ ? तपाईहरुको श्रीमती संसद भैरहने, मन्त्री भईरहने, सासु, साला, साली राजदुत भैइरहने, छोरीबुहारीहरु विभिन्न अहोदामा रहिरहने, द्धारेहरुलाई विभिन्न राजनितिक नियुक्ती दिइरहने, आम सर्वसाधरणलाई हातखुट्टा बाँधेर पोखरीमा फाल्दिने अनि पौडिन नजानेर डुब्यो भन्ने प्रवृतीले देश जोडिदैन ।

देशको बागडोर समाल्नेहरु जनतासंग घुलमिल हुनुपर्छ । हामी समृद्ध नेपाल सुखी नेपालीको एकहोरो सुगा रट्याईमा लगाईरहेको छौं तर जनता भोक, रोग, अन्याय, अशिक्षा, बेरोजगारी, विभेदबाट आक्रान्त छन् । यी तमाम समस्याको समाधान समाजबादको ललिपप देखाएर छु मन्तर हुने विषय हो र ? कोरोनाको यत्रो संत्रासका बाबजुत वैदेशिक रोजगारीमा गएका नेपालीहरु फर्कने दिन कुरेर बसेका छन् । देशको लागी यो एउटा अवसर पनि हो । आगामी बजेटले ती यूवाहरुको जोस र जाँगरलाई समेट्न सक्यो भने हामी आत्र्मनिर्भर हुन सक्ने स्पष्ट आधारहरु छन् ।

हिजो संगै हिडेका नेताहरुको दैनिकी, शान, सौकत, उन्नती र प्रगती हुने त्यही जनता सधैं भरि दास र रैती भएर जीवन गुजार्नु पर्ने ? नढाटी भन्नुस त महोदय, गणतन्त्रले देश कसरी जोड्यो ?