/सुरक्षा भत्ता कटौतीको निर्णयलगत्तै पोखरामा असन्तुष्टी

सुरक्षा भत्ता कटौतीको निर्णयलगत्तै पोखरामा असन्तुष्टी

उत्तम पौडेल / पोखरा

कोरोना कहरकाकारण सरकार आर्थिकरुपमा कमजोर भएको महशुस भएको छ । जसको उदाहरणस्वरुप सरकारले हालै सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय ग¥यो ।

सरकारले ६० बर्ष मुनिका एकल महिला तथा निलो कार्डधारी अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका छन । एकल महिलाहरुको संगठनहरुले बिभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण पनि गराएका छन ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल समक्ष सोमबार उनीहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन । लकडाउनको यस्तो जटिल परिस्थितिमा सरकारले एकल महिला तथा अपांगता भएकाहरुलाई राहतको प्याकेज ल्याउनुपर्ने समयमा खाइपाई आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेर गैह्रजिम्मेवारपन देखाएको आरोप लगाएका छन । उनीहरुले सरकारको यो कदमको बिरोध गर्दै यो कदम तुरुन्त फिर्ता लिन पनि माग गरेका छन ।

मानव अधिकारका लागि महिला , एकल महिला समुह गण्डकी प्रदेशकी अध्यक्ष प्रमिला तझ्या , सोही समुहकी कास्की संयोजक जुना केसी , राष्ट्रिय अपांगता महासंघकी केन्द्रीय सदस्य अन्जना केसी लगायतले सोमबार कास्कीका प्रजिअ पौडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । सरकारले एकल महिला तथा निलो कार्ड लिएका अपांगता भएका नागरिकलाई गरेको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

यो कदम फिर्ता लिन तथा एकल महिला तथा अपांग नागरिक प्रति सरकार सदैव जवाहदेही बन्न पनि माग गरिएको छ । भत्ताको नारा लगाएर भोट मागेर बनेको सरकारले यस्तो संक्रमणकालीन समयमा एकल महिला तथा अपाङ्ग नागरिकको सामाजिक सुरक्षा काटिनु दुर्भाग्य भएको उनीहरुको दाबी रहेको छ ।