/सगरमाथा वास्तविक उचाई पत्ता लगाउन चिनियाँ टोली चुचुरोमा पुग्यो

सगरमाथा वास्तविक उचाई पत्ता लगाउन चिनियाँ टोली चुचुरोमा पुग्यो

एजेन्सी, काठमाडौं

सगरमाथाको उचाइ नाप्नका लागि चिनियाँ सर्वेक्षकहरुको टोली आज विहान चुचुरोमा पुगेको छ । चिनियाँ सञ्चारमाध्यमले सर्वे टोली चुचुरोमा पुगेको दृश्य प्रतक्ष्य प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो ।

टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्भेक्षण गर्ने चिनिया सञ्चारमाध्यमले जनाएका छन् । सर्भेमा चीनले हालसम्मकै आधुनिक प्रणाली अपनाइएको जनाएको छ । त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग भएको छ ।

टोलीमा ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरु सहभागी छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका समयमा सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने सहमति दुई देशबीच भएको थियो ।

नेपालले सगरमाथाको उचाइ नाप्ने अभियान अन्तिम चरणमा पुर्‍याएकै समयमा चिनियाँ टोली पनि चुचुरोमा पुगेको हो । दुबै टोलीले काम सकेपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने तयारी छ । नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत फिल्ड मा गर्नुपर्ने काम सकिसकेको छ ।

अहिलेसम्म १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आइएको छ । पछिल्लो सर्वेपछि सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ ।