/आज गणतन्त्र दिवस, २ सय ३३ कैदीका सजाय मिनाहा

आज गणतन्त्र दिवस, २ सय ३३ कैदीका सजाय मिनाहा

रिसेस, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गरेकी छन् ।

गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।