/कोरोना काउन्टडाउनः आज थपिए १ सय ७०, कूल १ हजार २१२ संक्रमित

कोरोना काउन्टडाउनः आज थपिए १ सय ७०, कूल १ हजार २१२ संक्रमित

रिसेस

नेपालमा शुक्रबार एकैदिन १७० जनामा कोरोना (कोभिड-१९)  पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.  विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । ६ जनाको मृत्यु भइसकेको छ भने २०६ जना डिस्चार्ज भइसकेका छन् । आज मात्रै १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनामा संक्रमण देखिएको छ । त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ४, झापाका एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४, पर्साका ५, पाटन अस्पताल प्रयोगशाला सर्लाही घर भएका एकजनामा संक्रमण देखिएको हो ।

यसैगरी, गण्डकी प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका एक, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुरमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २३, रौतहटका ५६, सर्लाहीका ४ जना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा.  देवकोटाले बताउनु भयो ।

त्यस्तै, रूपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १५ र रूपन्देहीका एक जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ९ र दाङका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।