/काठमाण्डौंको न्यूरोडमा व्यापारीले खोले पसल, मैतिदेवीमा प्रहरीसँग विवाद

काठमाण्डौंको न्यूरोडमा व्यापारीले खोले पसल, मैतिदेवीमा प्रहरीसँग विवाद

काठमाडौं- लकडाउनका कारण जनजीवन प्रभावित बन्दै गएपछि काठमाडौंका व्यापारीहरुले आज बिहानैदेखि पसल सञ्चालनमा ल्याएका छन् ।

सरकारले लकडाउन जारी राखेकै बेला व्यापारीहरुले एकतर्फी निर्णय गर्दै व्यापार व्यवसाय सञ्चालनमा ल्याएका हुन् । उनीहरुले आजदेखि विहान ११ बजेसम्म सामाजिक दूरी कायम गर्दै  व्यापार व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट न्यूरोड लगायत उपत्यका भरी पसल खोल्ने निर्णय गरेको हो।

महासंघले आफ्ना सबै सदस्यहरुलाई पसल, व्यवसाय संचालन गर्न आह्वान गरेको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

‘उपत्यकामा हाम्रो २७ ओटा संगठन छ र प्रत्येक संगठनमा एक हजार भन्दा धेरै सदस्यहरु छन्। त्यस्तै देशैभरी सम्पर्क समिति पनि छन्। हामीले सबैलाई पसल खोल्न आह्वान गरेका छौ’ उनले भने ।

७३ दिनदेखि चलिरहेको लकडाउनको कारण व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज, किस्ता, कर्मचारीको तलव दिन समेत मुस्किल परेको कारण पसल खोल्ने निर्णय गरिएको उनले बताए ।

महासंघ मातहतमा ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, इम्पोर्ट–एक्पोर्टदेखि सामान्य व्यापारी समेत सदस्य रहेको महासंघले जनाएको छ।

पसल संचालन गर्दा प्रशासनले बल प्रयोग गरेर बन्द गराए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव-भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने उनले चेतावनी दिए।

आज विशेषत राजधानीको न्यूरोड, महाबौद्ध, बानेश्वर, कोटेश्वर, चाविहल, बौद्ध लगायतका स्थानबाट व्यवसाय खोलिएका थिए ।

पसल बन्द गराउँदा प्रहरीसँग विवाद 

यसैबीच आज विहान काठमडौंको मैतिदेवीमा प्रहरी र स्थानीय व्यापारीबीच विवाद भएको छ ।

विहानैबाट स्थानीय व्यापारीहरुले पसल खोलेपछि बन्द गराउँदै हिडेका प्रहरीसँग विवाद भएको हो । व्यापारीले लकडाउन उल्लंघन गर्दै अत्यावश्यक बाहेकका पनि सबै पसल खोलेपछि प्रहरीसँग विवाद भएको हो।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले बन्द गराएको हो । सिंहदरबारस्थित प्रहरी वृत्तका अनुसार त्यस क्रममा मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारी र प्रहरीबीच विवाद भएको हो।

मोडालिटी परिवर्तन गर्ने मनसायमा सरकार

जारी लकडाउनका कारण जनजीवन प्रभावित बन्दै गएपछि सरकारले मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ  ।लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए ।

कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि गत मंगलबार विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

समितिको बुधबारको बैठकमा पनि लकडाउनलाई सहज बनाउँदै कसरी लैजाने भन्ने विषयमा छलफल भएको थियो ।

चैत ११ गतेदेखि जारी लकडाउन सरकारले पछिल्लो पटक थप गर्दै जेठ ३२ गते सम्मका लागि लम्ब्याएको छ ।

हालसम्म कतिपटक थपियो लकडाउन ?

सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो ।

देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पुर्‍याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन लम्ब्याइएको छ ।

नेपालमा हालसम्म २ हजार ३ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्य ९ जनाको मृत्यु भएको छ भने २७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।