/दैलेखमा तरकारीको टनेल नै क्वारेन्टाइन

दैलेखमा तरकारीको टनेल नै क्वारेन्टाइन

दैलेख: जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जङ्गलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ ।

तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ ।

सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ ।”

अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन् । कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन । जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताउनुभयो ।