/विमानस्थल निर्माणपक्षको अटेर, स्थानीयको घर चर्किने विष्फोट गराउँदै

विमानस्थल निर्माणपक्षको अटेर, स्थानीयको घर चर्किने विष्फोट गराउँदै

दिपक के श्रेष्ठ

सन् २०२० को अन्त्यसम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सक्ने लक्ष्यकासाथ सुरु गरिएको निर्माणमा ठेक्का कम्पनीले बम विष्फोट गराएपछि स्थानीय मर्कामा परेका छन् । विमानस्थलको उत्तरतर्फको ढिस्को फुटाउन आयोजना पक्षले बाराम्बार विष्फोट गराउँदै आएको छ ।

यसरी विष्फोट गराएपछि वडा नम्बर १४, हवेलीमार्गका स्थानीयहरुको घर चर्किएको छ । विमानस्थलको पश्चिमबाट विष्फोट गराउँदै आएपनि हाल बाँकी रहेको करिब २ सय मिटर ढिस्को नजिक धेरै घरहरु छन् । विष्फोटले कसैको घरको भित्ता, कसैको सेफ्टी ट्यांकी र पिल्लरनजिकका प्लाष्टर फुटेका छन् । यसरी क्षति भएपछि पटकपटक स्थानीयले विरोध गर्दै धर्ना जारी राखेका छन् ।

करिब १ महिना अघि पनि स्थानीयले विरोध गरेपछि विष्फोट रोकिएको थियो । तर, बिहीबार आयोजना पक्षले पुनः विष्फोट गराउन खोजेपछि स्थानीय आन्दोलित भएका छन् । बस्ती नजिकै विष्फोट गराउनु मापदण्ड विपरित हुने र उचित सुरक्षा नदिइ निर्माण कार्य अघि बढाएको स्थानीयको भनाई छ ।

आयोजनाले समयमै काम सक्ने भन्दै स्थानीयवासीको क्षतिलाई नजरअन्दाज गरेको छ । काम छिटो हुने भन्दै विष्फोट गराउन खोज्दा हाल दैनिक उक्त स्थानमा तनाव बढेको छ । बाँकी रहेको ढिस्को फुटाउन डोजरलगायतका सामग्री प्रयोग गरेको भएपनि हालसम्म काम सकिने स्थानीय बताउँछन् । वडा कार्यालय, स्थानीय निकाय र प्रशासनसमक्ष जानकारी गराउँदा पनि बेवास्ता गरेपछि घर जोगाउन आन्दोलन नै गर्नुपरेको स्थानीयवासी मोहन गिरी बताउँछन् ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको नाममा सर्वसाधारणले दुखजिलो गरी मुस्किलले बनाएको घरमै क्षति पु¥याउने कार्य गलत भएको सन्तोष श्रेष्ठको भनाई छ ।

आयोजनाका इञ्जिनियर विनेश मुनाकर्मी विष्फोट सामान्यतवरको भएको भन्दै जसरी पनि बमको प्रयोग गरेरै छाड्ने अडानमा छन् । विष्फोटमा प्रयोग हुने सामग्री अझै बाँकी रहेको भन्दै उनले स्थानीयहरुको घरमा खास क्षति नभएको बताउँछन् । तर, पीडितको आग्रहमा घर निरीक्षण गर्न भने मान्दैनन् । स्थानीय प्रतिनिधि जितेन्द्रजंग थापा भने विष्फोटको सट्टा चट्टानब्रेकरले पनि काम हुने दाबी गर्छन् । यद्यपि, आयोजना पक्षले कसैको कुरा पनि सुन्न चाहेको छैन ।

लकडाउनकाबीच पनि विमानस्थल निर्माणार्थ नेपाली र चिनियाँ गरी करिब ३ सय बढी कामदार खटिएका छन् ।