दिपक के श्रेष्ठ
आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका स्याङजाका ६० वर्षीय पुरुषको शव अहिलेसम्म पनि उठाइएको छैन ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कोरोना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेमा उनी नै पहिलो रहेको बताइएको छ ।
मृतक पुरूष स्याङ्जाको बालिङ नगरपालिका स्थायी ठेगाना रहेको र उनमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले विज्ञप्ति मार्फत् ती पुरूषको मृत्यु भएको पुष्टि गरे । उनी डायबिटिज, हाइपरटेन्सन र मृर्गौला रोगीसमेत भएको प्रतिष्ठानले बताएको छ ।
यद्यपि, उनको शव अहिलेसम्म उठ्न नसकेको विषयमा प्रश्न गर्दा प्रतिष्ठानको काम उपचार गर्नु रहेको र शव उठाउने काम जिल्ला प्रशासन कार्यालय कास्की मातहतको भएको उल्लेख गरे ।
तर, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लाश गाड्ने जमिन खोज्ने काम भईरहेको बताएका छन् । महानगरपालिकाले रोजेको ठाउँमा स्थानीयहरुले शव गाड्न नदिने भन्दै विरोध जनाएपछि अझैसम्म पनि कहाँ लैजाने भन्ने टुंगो लाग्न सकेको छैन । हिन्दू परम्पराअनुसार शव जलाउने संस्कार भएपनि संक्रमित भएका कारण शव गाड्ने निर्णय गरिएको बताइएको छ ।
प्रतिष्ठानमा हाल ३ जना संक्रमितको उपचार भइरहेको छ भने मृतकको शव उठ्न ढिलाई हुँदा संक्रमण बढ्न सक्ने खतरा रहेको छ । उनको आइतबार राति साढे ११ बजे मृत्यु भएको हो ।