/तयारी फितलो हुँदा कोरोना संक्रमितको शव अझै उठेन

तयारी फितलो हुँदा कोरोना संक्रमितको शव अझै उठेन

दिपक के श्रेष्ठ

कोरोना संक्रमणको कारण मुलुक आज ७७ औं दिनको लकडाउनमा छ ।

नेपालमा धेरैपछि संक्रमण देखिएको र क्षति न्यून भएपनि यति लामो समयसम्म सरकारले कुनैपनि तयारी गर्न नसकेकोे पोखरामा भएको घटनाले प्रष्ट्याएको छ । जसको उदाहरण हो, आइतबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएका स्याङजाका ६० वर्षीय पुरुषको शव अहिलेसम्म पनि उठाउन नसक्नु ।

यतिबेला आइसोलेशनमा संक्रमितको मृत्यु भएको करिब १८ घण्टा हुन लागेको छ ।

तर, उनको शव व्यवस्थापन हुन सकेको छैन । हाल प्रतिष्ठान परिसरमा चिकित्सक, मृतकको आफन्त र अन्य प्रयोजनका लागि ३ वटा एम्बुलेन्स राखिएको छ । वस्तुस्थितिको अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षकसहितको टोली प्रतिष्ठान परिसर पुगेको छ । यद्यपि, शवलाई कहाँ व्यवस्थापन गर्ने भन्ने यकिन भइसकेको छैन । मृतक गुरुङ परिवारको भएका कारण उनको शव गाड्नु पर्ने दबाब छ ।

सम्बन्धित निकाय अझैपनि शव गाड्ने स्थान निश्चित गर्न सकेको छैन । सम्भावित केही स्थानको पहिचान गरिएपनि तत्क्षेत्रका स्थानीयवासीले विरोध गर्न सक्ने सम्भावनाकाकारण शव हालसम्म प्रतिष्ठानकै आइसोलेशन कक्षमा छ ।

सम्भवतः रात परेपछिमात्रै शवलाई आइशोलेसन कक्षबाट उठाएर कतै लगिने निक्र्याैल गरिएको छ । त्यस्तै, हालसम्म उक्त शव कुन शववाहनले लैंजाने भन्नेमा सम्बन्धित निकायले पहल गरिरहेको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कोरोना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेमा उनी नै पहिलो रहेको बताइएको छ ।