/गण्डकीको हालतः उधारोमा फ्रिज किन्दै, स्वाब थन्क्याउँदै

गण्डकीको हालतः उधारोमा फ्रिज किन्दै, स्वाब थन्क्याउँदै

रिसेस

देशमा लकडाउन सुरु भएको आज ८२ औं दिन हो । यतिबेला कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले दातृ निकायबाट सहयोग रकम पाइरहेको छ भने विभिन्न देशबाट आरडिटी र पिसिआर भित्र्याइरहेको छ । झट्ट हेर्दा, सुन्दा लाग्छ, यहाँ तयारी पनि सोही रफ्तारमा चलिरहेको छ ।

तर, त्यसो होइन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २० दिन पहिले नै प्रदेश सरकारले किनेको पीसीआरबाट परीक्षण सुरु गरिएको दाबी गरे पनि हालसम्म उक्त मेसिनबाट परिक्षण सुरु भएको छैन । ओम्नी समूहले किनेर संघले प्रदेशलाई दिएको मेसिन त्यत्तिकै थन्किएको छ । अहिले गण्डकीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मातहतको प्रयोगशालाबाट मात्रै कोरोना परिक्षण हुँदै आएको छ । गण्डकीले किन्ने भनेको नयाँ मेसिन टेण्डर प्रक्रियामा नै छ ।

यता, सरकारले भने नीति तथा कार्यक्रममा नै तीनवटा मेसिनबाट कोरोना परीक्षण गरिएको भनेर घोषणा गर्यो । सरकारले घोषणा गरे पनि पछिल्लो समय भने कोरोना परीक्षण गर्ने प्रयोगशालामा भद्रगोल छ । मुख्यमन्त्रीले कोरोना महामारीमा एक नम्बरमा गण्डकीले तयारी गरेको दाबी गरिरहँदा प्रयोगशालामा १६ सयभनदा बढी स्वाब नर्मल फ्रिजमा थन्किएका छन् ।

गत सोमबार मात्रै गण्डकीमा कोरोना संक्रमणले निधन भएका एक व्यक्तिको शव व्यवस्थापनमा प्रदेश सरकार हराएको भनेर आलोचना भएको थियो ।

दुई दिन अघि कोरोना परीक्षणकोे रिपोर्ट पनि आएन । मेसिन चलाइएको तर, कुनै पनि नतिजा नआएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरेन ।

जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख सपना सुवेदी भन्छिन्, “नयाँ रिएजेन्ट आएको थियो, भ्यालिडेसन हुँदैथियो, रिजल्ट आउट हुनेगरि कुनै पनि निस्किएन । नयाँ रिएजेन्ट आएपछि केही काम गर्नुपर्ने हुन्छ । प्रोसेस नसकिएका कारण नआएको हो ।”

नयाँ मेसिन क्षेत्रीय क्षयरोग केन्द्रमा लगेर राखिएको छ । त्यो मेसिनको प्रमाणीकरण भइसकेको छैन । प्रमाणीकरण नहुँदासम्म मेसिनले आउटपुट दिँदैन । त्यहाँ काम छुट्टै गर्न ल्याब टेक्निसियन छैनन् । एउटा मेसिन सञ्चालन गर्न ६ प्रयोगशालाकर्मी आवश्यक हुन्छ । नयाँ कर्मचारीको हकमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले संसदमा जवाफ दिने क्रममा तीनजना प्राविधिकहरु खोजिएको बताएकी थिइन् । नयाँ मेसिन आएपछि कर्मचारी थप्नुपर्ने हो, तर हालसम्म नयाँ कर्मचारी भर्ना गरिएको छैन ।

अहिले प्रयोगशालामा दुई सिफ्टमा काम भइरहेको छ । त्यहीँका प्राविधिक नै क्षयरोगमा राखिएको ल्याबमा पनि काम गर्ने सुवेदीले जानकारी दिइन् । अहिले दैनिक २ सयको हाराहारीमा कोरोना परीक्षण हुँदै आएको प्रयोगशालाले जनाएको छ ।

यता, पछिल्लो समय ह्वात्तै संक्रमण बढेपछि स्वाब पनि थुप्रिएको छ । प्रयोगशालाले ठूलो संख्यामा स्वाब परीक्षण गर्न नसकेपछि यही हप्तामात्रै प्रदेश सरकारले चारवटा फ्रिज किनेको छ । इमर्जेन्सी भएको भन्दै सरकारले उधारोमा चारवटा फ्रिज किनेको हो । यसअघि पनि दुइवटा फ्रिज किनिसकिएको थियो ।

“चारवटा फ्रिज किनेका छौँ । नर्मल फ्रिज नै किनेका हौँ । नयाँ स्वाबलाई चाहिँ नर्मल फ्रिजमा राखिएको हो,” सुवेदीले भनिन् ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार सुरुमा किनिएका दुइवटा फ्रिज प्रतिफ्रिज ८५ हजार रुपैयाँमा किनिएको हो ।

अहिले किनिएका फ्रिज पनि सोही मूल्यमा किनिएको हुनसक्ने उनले जानकारी दिए ।

“२ देखि ८ डिग्रीसम्मको फ्रिज किनेका हौँ । जिल्लाबाट तत्काल ल्याएर राख्नुपर्यो । जिल्लाबाट आइस ब्यागमा ल्याइएको हुन्छ । त्यसैलाई मेन्टेन गर्नको लागि हो । सुरुमा २ वटा फ्रिज ल्याइएको थियो । ८५ हजार रुपैयाँ पर्ने ल्याब हुन् । ह्वात्तै स्वाब बढ्यो, अनि इमर्जेन्सीमा किनेका हौँ,” उनले भने ।

उधारोमा किनिएका फ्रिजको भुक्तानी भने सरकारले दिएको छैन ।