/कुश्मा अपडेटः ७ जनाले ज्यान गुमाए

कुश्मा अपडेटः ७ जनाले ज्यान गुमाए

पर्वतः पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्‍नी मीनकुमारी थापा, नातिनी विविशा थापाको मृत्यु भएको छ । यस्तै दीपा थापा र कमला विक र प्रमिसा विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुने एक जनाको भने परिचय खुल्न बाँकी रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

घटनास्थलमा प्रहरीले बेपत्ता २ जनाको खोजी जारी राखेका छन् । घटनास्थलमा डोजर पनि लगिएको छ ।

तुलबहादुर थापाको ६ जनाको परिवार र कमला विकको ३ जनाको परिवार पहिरोले पुरेको हो । ९ मध्ये सातजनाको शव फेला परेको हो ।

पहिरोमा परेर अझै दुईजना बेपत्ता छन् । उद्धारकर्मीले शनिबार राति तीनजनाको र आइतबार बिहान चारजनाको शव फेला पारेका हुन् ।