/अनुदानै अनुदानबाट गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड

अनुदानै अनुदानबाट गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड

रिसेस
गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को लागि ३४ अर्ब ८४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजस्व र व्ययको अनुमान पेश गरेका हुन ।

कुल ३४ अर्ब ३४ अर्ब ८४ करोड २१ लाख ६० को बजेटमध्ये चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ७४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।

कुल बजेटमा चालु खर्चतर्फ ४१ दशमलव २ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ दशमलव ४ प्रतिशत रहेकोछ ।

मन्त्री गुरुङले खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टी वापत प्राप्त हुने ३० करोड रहेका जानकारी दिए ।

यस्तै, सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

बाँकी अपुग ९ अर्ब रुपैयाँ भने सरकारले चालु आर्थिक वर्षमा खर्च नहुने बजेटबाट तान्ने जनाएको छ ।

“न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ७ अर्ब उपयोग गरिनेछ । नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने खुद २ अर्ब मध्ये आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने छ ।” मन्त्री गुरुङले भने ।