/गण्डकी प्रदेशमा तमाशाः गाडी पूजा गर्न पनि ५ लाख बजेट

गण्डकी प्रदेशमा तमाशाः गाडी पूजा गर्न पनि ५ लाख बजेट

रिसेस

गण्डकी प्रदेश सरकारले हालै जारी गरेको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा गाडी पूजा गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २२७११ खर्च शीर्षकमा पूजा खर्च राखिएको छ । सोही शीर्षकमा सवारी साधन र मेसिनरी खर्च शीर्षकमा उक्त बजेट छुट्याइएको हो ।
अहिले गण्डकी प्रदेशसभामा विनियोजन विधेयकको छलफल भइरहेको छ । सोही विधेयकको छलफलका क्रममा प्रदेश सांसद दीपक कोइरालाले पुजा खर्चमा पाँच लाख बजेट छुट्याइएकोमा प्रश्न उठाएका छन् ।

“मेरो आँखा भने सानो शीर्षकमा गयो । सवारी साधनको पूजा गर्न ५ लाख रुपैयाँ छुट्याइएको रहेछ । आफ्नो पकेटको पैसाबाट गरेको भए हुन्थ्यो पूजा । यो परम्परावादी भयो कि भन्ने हो तर बजेट ठूलो भने होइन,” उनले भने ।

यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले भने चालु आर्थिक वर्षमा पनि बजेट छुट्टिएको तर सबै खर्च नभएको बताए ।

“बजेट सबै खर्च त हुँदैन, तर पनि धेरै छुट्टिएछ । यो बजेट विश्वकर्मा पूजासहित अन्य पर्वमा सवारीसाधनको पूजा, मेसिनहरुको पूजा गर्नमा खर्च हुन्छ ,” उनले भने ।

यता, कर्मचारीलाई भत्ता कटौती गरेको गण्डकीले घुम्नका लागि भने २ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङले बजेट पेस गर्दा “प्रदेशको सार्वजनिक स्रोतमा आउने संकुचन र कोरोना महामारी रोगको रोकथाम नियन्त्रण र प्रभाव न्यूनीकरण कार्यमा अतिरिक्त स्रोत परिचालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने नीति लिएको छु। यसका लागि अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता २०७७ साउन १ गतेदेखि खारेज गरेको” बताएका थिए ।

तर, बिदा पर्यटनको नाममा आगामी वर्ष प्रदेश मातहतका कर्मचारीहरुलाई २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन नामक यो कार्यक्रम पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गर्नेछ ।

चालु आर्थिक वर्षमा भने सरकारले यो कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट छुट्याएको थियो । कोभिड १९ कारण भ्रमण वर्ष २०२० र गण्डकीको छिमेकी पर्यटन वर्ष २०२० दुवै रोकिए । तर, गण्डकीले भने २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ३ वर्षको लागि पर्यटन संयोजक नै नियुक्त समेत गरिसकेको छ ।