/३३ वर्षपछि पोखरा बहुमुखी आफ्नै भवन बनाउँदै

३३ वर्षपछि पोखरा बहुमुखी आफ्नै भवन बनाउँदै

दिपक के श्रेष्ठ

पोखरा नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस ३३ वर्षपछि आफ्नै भवन निर्माणमा जुटेको छ । ।

विभिन्न प्रयासका बावजुद भवन निर्माणार्थ जग्गा उपलब्ध भएपछि आज क्याम्पसले शिलान्यास गरी औपचारिक सुरुवात ग¥यो । भवन निर्माणको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले क्याम्पसको शैक्षिक योगदानको चर्चा गर्दै आजको दिन महत्वपूर्ण रहेको बताए । मेयर जिसीले भने, ‘यो उपलब्धी क्याम्पसकोमात्र नभएर सिंगो पोखराको पनि हो ।’ क्याम्पसले आगामी दिनमा गूणस्तरीय शिक्षाका लागि अझ मेहेनत गर्नुपर्ने बताउँदै थप सहयोगका लागि के गर्न सकिन्छ महानगरले सोच्ने बताए ।

सोही अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र लालचनले भवन निर्माणको पहिलो खुड्किलोमा आइपुगेकोे बताउँदै यसअघिका समितिले गरेको कामकोसमेत स्मरण गरे । सकेसम्म आफ्नै कार्यकालमा भवन निर्माणलाई मूर्तरुप दिने योजना रहेको सुनाए । ‘जग्गा उपलब्ध भएको छ, शिलान्यास पनि गरियो अब आवश्यक रकम जुटाउन पहल गर्नेछु’ लालचनले भने, ‘यो पूण्यकाममा सबै पोखरेली र समाजसेवीको सहयोग हामीलाई खाँचो छ ।’

शिलान्यासको उपलक्ष्यमा सहभागी शिक्षाप्रेमी, स्थानीयवासी, समाजसेवीलगायतलाई धन्यवाद व्यक्त गर्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले आगामी दिनमा क्याम्पसले भौतिक संरचनाको चिन्ता नगरी शिक्षाको गुणस्तरमा केन्द्रित हुने वातावरण बनेको धारणा राखिन् । क्याम्पसको आरोह–अवरोहबारे चर्चा गर्दै ढिलै भएपनि क्याम्पस स्वायत्त हुन लागेको उल्लेख गरिन् । साथै, सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारीले भवन निर्माणार्थ शिक्षक, कर्मचारी र विद्यार्थीले सहयोगको अपेक्षा गरे ।

क्याम्पसको भवन निर्माणार्थ महानगरपालिकाले पोखरा, शान्तिवनस्थित खाली रहेको करिब ५ रोपनी जमिन उपलब्ध गराएको छ । यथाशीघ्र भवन निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त आयोजनामा हाल ६ करोड ५० लाख रुपैयाँ लाग्नेछ ।

शिलान्यासकै दौरान व्यवस्थापन समिति अध्यक्ष लालचनले ५० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । त्यस्तै, क्याम्पसकै कर्मचारी अन्तीम पौडेलले ५५ हजार ५५५ रुपैयाँ, क्याप्टेन पृथ्वीबहादुर गुरुङले १ लाख ५ रुपैयाँ, समाजसेवी प्रकाश पहारीबाट ५० हजार र विश्वरत्न शाक्यबाट ४७ हजार रुपैयाँ सहयोग रकम आउने भएको छ ।

क्याम्पसमा हाल स्नातक तहअन्तरगत मानविकी र व्यवस्थापन संकायमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन् ।