/१८ शव बोकेर मलेसियाबाट आउँदैछ कतारी जहाज

१८ शव बोकेर मलेसियाबाट आउँदैछ कतारी जहाज

फाइल तस्बिर

रिसेस

वैदेशीक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव ल्याइने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो ।

यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ । यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए । त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।

अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पुर्‍याइदिन्छ । काठमाण्डौमै आफन्त भएमा शव बुझ्न सकिने र बोर्डले घरसम्म ढुवानी गरिदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आज आउने शवको ढुवानीका लागि बोर्ड तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।