/पोखरामा तनावपछि आयोग बोल्योः शव व्यवस्थापनमा अवरोध नगर्नु

पोखरामा तनावपछि आयोग बोल्योः शव व्यवस्थापनमा अवरोध नगर्नु

रिसेस

कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगले अवरोध नगर्न आग्रह गरेको हो ।

पोखरा घटनाको अनुगमन गर्दा स्थानीय वासिन्दाले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीयसँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न अवरोध गरेको र सुरक्षाकर्मीहरुबाट बल प्रयोग गरी शवको व्यवस्थापन गरेको पाइएको आयोगले जनाएको छ । व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको आयोगले स्मरण गराएको छ ।

कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।