/वाणिज्य बैंकहरुले ब्याज घटाए, नयाँ ब्याजदर सार्वजनिक

वाणिज्य बैंकहरुले ब्याज घटाए, नयाँ ब्याजदर सार्वजनिक

एजेन्सी

वाणिज्य बैंकहरुले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजानिक गर्न थालेका छन्। पछिल्लो समय नयाँ ब्याजदर सार्वजानिक गर्ने अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले पुरानो ब्याजदरको तुलनामा निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएर सार्वजानिक गरेका छन्।

सिटिजन बैंकले असार ७ गतेदेखि साधारण बचतको ब्याजदर ४.५० प्रतिशत कायम गरेको छ भने बैंकले कर्जाको ब्याजदर आधार दरमा शुन्य दशमलव ५० प्रतिशतदेखि ८ प्रतिशत सम्म प्रिमियम थपेर प्रदान गर्ने जनाएको छ। जेठ अन्तिमसम्म बैंकको आधार दर ९.२५ प्रतिशत कायम छ। चैत मशान्तसम्ममा बैंकको आधार दर ९.८८ प्रतिशत कायम थियो।

त्यसैगरी एनसीसी बैंकले पनि असारबाट लागु हुनेगरी साधारण बचतमा साढे ५ प्रतिशत र कर्जामा आधार दरदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी थप गरी ब्याजदर लिने जनाएको छ। चैत मसान्तसम्ममा बैंकको आधार दर १०.३६ प्रतिशत कायम छ।

त्यसैगरी बैंक अफ काठमाण्डौले साधारण बचतमा ४ प्रतिशतदेखि साँढे पाँच प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने गरी नयाँ सूचना जारी गरेको थियो। बैंकले कर्जामा पनि आधार दरदेखि पाँच प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउने जनाएको छ। बैशाख अन्तिम सम्ममा बैंकको आधार दर ९.१४ प्रतिशत रहेको छ। चैत मसान्तमा बैंकको आधार दर ९.३३ प्रतिशत थियो।

नेपाल बैंकले साधारण बचतमा ३ प्रतिशतदेखि पाँच प्रतिशतसम्म ब्याज दिने र कर्जामा आधार दरमा ४.६६ प्रतिशतसम्म ब्याजदर लिने गरी ब्याजदर सावैजानिक गरेको थियो। यता सिभिल बैंकले साधारण बचतको ब्याजदर साढे पाँच प्रतिशत र कर्जाको ब्याजदर आधार दर देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर लिनेगरी नयाँ व्याजदर सार्वजानिक गरेको थियो।

चैत मशान्तमा औषत ९.१५ प्रतिशत रहेको आधार दर बैशाख मशान्तसम्ममा ८.९६ प्रतिशत कायम भएको छ । यसले बैंकहरुको ब्याजदर घट्न थालेको देखाउछ। अघिल्लो वर्षको बैशाख मसान्तमा बैंकहरको औषत आधार दर ९.५९ प्रतिशत थियो। चैत मशान्तसम्ममा ९ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा कम थियो। पछिल्लो समय बैंकहरुको आधार दर क्रमश घट्दै गएको देखिएको छ।

बैशाख मशान्तसम्ममा बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.९९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६७ प्रतिशत र १२.२३ प्रतिशत रहेका थिए । बैशाख यता बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर थप घटाएका छन्। केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा तरलता सहज गरेपनि बैंकहरुले व्याजदर घटाएका हुन्।

केन्द्रिय बैंकले बैंकहरुलाई चालु आर्थिक वर्षको चौथो त्रैमासमा कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले घटाएर गणना गर्न निर्देशन दिएको छ। केही बैंकले ऋणीहरुलाई केन्द्रिय बैंकले भनेको भन्दा धेरै सहुलियत पनि दिएका छन्।

बैंकहरु अहिले तरलता बढाएर ब्याजदर घटाउने रणनीतिमा अघि बढेको देखिएको छ। बैंकर्स संघले मौद्रिक नीतिको सुझावमा पछि बैंकिङ प्रणलीमा तरलता बढाउन सहयोग पुग्ने खालका सुझावहरु दिएको छ।

संघले सिआरआर घटाउनुपर्ने,सिसिडि रेशयोलाई बढाउनुपर्ने स्थानीय तहमा जाने बजेटको सतप्रतिशत रकमलाई निक्षेपका रुपमा परिचालन गर्न पाउनुपर्ने जस्ता मागहरु राखेका छन्।