/राजधानीमा ट्याक्सी व्यवसायी आन्दोलित

राजधानीमा ट्याक्सी व्यवसायी आन्दोलित

काठमाण्डौंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफुहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ गते सम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभाग मार्फत सरकारलाई बुझाइएको बताए ।

व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् । दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् ।

उनीहरुले स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापन पत्र बुझाएको तर सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको बताए ।