/एन्फा कास्की र अध्यक्ष गुरुङको हिसाबकिताब छानबिन सुरु

एन्फा कास्की र अध्यक्ष गुरुङको हिसाबकिताब छानबिन सुरु

रिसेस, कास्की

कास्की जिल्ला फुटबल संघको अनियमितताका बारे आजदेखि केन्द्रिय तहबाट छानबिन सुरु भएको छ ।

एन्फाका केन्द्रीय उपाध्यक्ष वीर बहादुर खड्का नेतृत्वको छानविन समितिले एन्फा कास्कीको अनियमितताबारे छानबिन थालेको हो ।

उपाध्यक्ष खड्काको नेतृत्वमा बनेको समितिले एन्फा कास्कीको वर्तमान कार्यसमितिको दुई वर्षको हिसाबकिताब हेर्नेछ भने पूर्व कार्यकारी समितिको आर्थिक पक्ष पनि छानबिन गरिनेछ ।

गत माघमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेका थिए । गुरुङ बैंकिङ कसुरको जाहेरीका आधारमा माघ १० गते पक्राउ परेका थिए । एन्फा कास्कीकै एक पदाधिकारले अध्यक्ष गुरुङ एन्फा कास्कीको आफै बैंक, आफै खाता र आफै चेक भएको प्रतिक्रिया दिएका थिए ।

यसअघि आफूमाथि हातपात भएको भन्दै गुरुङले दिएको जाहेरीका आधारमा गण्डकी प्रदेश सांसद दीपक मनाङे बिहीबार पक्राउ परेका थिए ।

एन्फाले यसअघि नै केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । समितिका संयोजक रत्नकुमार श्रेष्ठको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै राजीनामा दिएका कारण समितिले आफ्नो प्रतिवेदन बुझाउन सकेको थिएन ।