/खेलाडी तयार गर्न जिमहल खोल्न पाउनुपर्छ

खेलाडी तयार गर्न जिमहल खोल्न पाउनुपर्छ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्न जिमहल सहितका फिटनेस सेन्टर सुचारु गर्न माग गरिएको छ । कोरोनाको कारण अहिले देशैभर जिमहल सहितका सबै फिटनेस सेन्टरहरु बन्द छन । करोडौँ लगानीमा खोलिएका जिमहलहरु पुनः सञ्चालन गर्न सञ्चालकहरुले माग राखेका छन ।
बुधबारमात्रै कास्की प्रहरीले जिमहल सुचारु गरेको भन्दै बोन्जर जिमका सञ्चालक शम्भु अधिकारीलाई पक्राउ समेत गरेको थियो । अधिकारी कास्की बडि बिल्डिङ एण्ड फिटनेस एसोसिएसनका उपाध्यक्ष समेत हुन ।

यद्यपी कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने सोधपुछका लागि मात्रै ल्याइएको जानकारी दिए । सरकारले जिम हल खोल्ने अनुमति हालसम्म नदिएको उनले जानकारी दिए ।
यता, एसोसिएसनले भने आफ्ना पदाधिकारी पक्राउको विरोध गरेको छ । एसोसिएसनका अध्यक्ष राजुकुमार थापाले विज्ञप्ती जारी गर्दै ‘यस्तो किसिमको क्रियाकलापले खेलाडीहरु तथा प्रशिक्षकहरुको मनोबलमा ठेस पुग्न गएको महसुस गरेका छौँ । आगामी दिनमा यस्ता किसिमका कार्यहरु नदोहोर्याउन सरकारसँग आग्रह गर्दछौँ ।’ भनेका छन ।

करोडौँ लगानी गरिएका जिमहलहरु डुब्ने अवस्थामा रहेको, बैंकले ब्याज तिर्न ताकेता गरिरहेको अवस्थामा सामाजिक दुरी कायम राखेर नै भएतापनि जिमहल खुलाउन उनले माग गरे ।
अन्यथा, बैंक तथा वित्तीय संस्थासँगको ऋण मिनाहा सरकारले गर्नुपर्ने उनले माग गरे ।