/नेकपाको स्थगित बैठक आज बस्दै, नतिजाको पर्खाइमा कार्यकर्ता

नेकपाको स्थगित बैठक आज बस्दै, नतिजाको पर्खाइमा कार्यकर्ता

रिसेस

‘भारतले सत्ताबाट हटाउन षडयन्त्र रचिरहेको’ भन्ने अभिव्यक्ति दिएर नेपाली राजनीतिमा तरंग ल्याएका प्रधानमन्त्री केपी ओली र सिंगै नेकपाको भविष्यबारे आज छिनोफानो हुने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले झुटो बोलेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालबीच गुटबन्दी भएपछि अप्ठ्यारोमा परेका ओली समस्याको हल खोज्न शुक्रबारदेखि लगातार छलफलमा व्यस्त छन् । तर आइतबारसम्म कुनै निकास निस्कन सकेको छैन ।

शीर्ष नेताहरुबीचको विवाद उत्कर्षमा पुगेका कारण गत शनिबार स्थगित भएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज बस्दैछ ।विवाद समाधानका लागि भन्दै बैठक पटक–पटक स्थगित भएपनि अझै सहमति जुट्न सकेको छैन । पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय र स्थायी समितिका बहुमत सदस्यले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपामा विवाद चर्किएको हो ।

नेकपाको विवाद पार्टी विभाजनको संघारमै पुगेको छ । ओलीले कुनै पनि हालतमा आफू राजीनामा दिन तयार नभएको बताउँदै आएका छन् भने अन्य नेताहरु राजीनामाको अडानमा रहेका छन् । ओलीले विपक्षी दल नेपाली कांग्रेससँग पनि छलफल गरिरहेका छन् । विवाद समाधानका लागि आइतबार दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरूले बताएका छन् ।

आज पनि अध्यक्ष ओली र प्रचण्डबीच सहमतिका लागि छलफल हुने नेताहरूले बताएका छन् । पार्टी फुटको संघारमा पुगेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताले चिन्ता व्यस्त गर्दै आएका छन् । यसबीच प्रम ओलीको समर्थनमा देशका केही सहरमा सभा र प्रदर्शनसमेत भए । केही नेताहरूले पार्टी विभाजन हुन नदिने भन्दै हस्ताक्षर अभियान नै थालेका छन् ।

यसबीच, प्रतिपक्ष नेपाली कांग्रेस नेकपामा सल्किएको तातो भुंग्रोमा हात सेकाउने दाउ पर्खिरहेको छ । यता, माओवादी र एमालेको मिलनलाई तोरी र कोदोको संज्ञा दिँदै अनमेल साँठगाँठप्रति असन्तुष्टीसमेत जनाइँदैछ । नेकपाका दाहाल र नेपाल पक्ष ओलीको पेलेरै जाने रणनीतिविरुद्ध छन् भने ओली समर्थकहरुले भने प्रमलाई राजीनामा गराउन खोज्ने भनेको ‘बेमौसमी बाजा बजाउनु हो’ भन्ने टिप्पणी गरिरहेका छन् ।

यद्यपि, यसअघिका घटनाक्रमलाई नियालिरहेका कार्यकर्ताहरु आज सुखद समाचार सुन्न, हेर्न पाउने प्रतीक्षामा छन् ।