/गैंडाकोटमा डाइभर्सन बग्यो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

गैंडाकोटमा डाइभर्सन बग्यो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीः पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित जयश्री पुल नजिक खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिनुभयो । बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । अहिले सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।