/पहिरोको असरः बारेकोटमा ५ सय बढी घरपरिवार विस्थापित

पहिरोको असरः बारेकोटमा ५ सय बढी घरपरिवार विस्थापित

जाजरकोटः पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् ।

त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् ।

त्यस्तै बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा उद्दार गरिएको छ । सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ ।