/तनहुँ अपडेटः बाढी र पहिरोले ११ को ज्यान लियो (नामसहित)

तनहुँ अपडेटः बाढी र पहिरोले ११ को ज्यान लियो (नामसहित)

तनहुँ, असार २९ गते । तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिमा गरी तीन ठाउँमा पहिरोजाँदा मृत्यु भएको हो ।

व्यास नगरपालिका–९ माझकोटमा दुई घर बाढीले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैती कुमारी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिनुभयो । त्यस्तै रिसिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलीका २८ वर्षीय भेष बहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र ५ वर्षीया बालिका अनिसा थापाको ज्यान गएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । ऋषिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन् ।

म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ । जिल्लाका साना तथा ठूला खोला नदीमा बाढी आउदा पृथ्वी राजमार्ग, लगायत शाखा सडक मार्गहरुमा पहिरो जाँदा यातायातमा समस्या भएको छ । त्यसैगरी व्यासनगरपालिका २ निवासी राम शाहले व्यवसायिक रुपमा पालेको एक हजार कुखुरा बुल्दी खोलामा आएको बाढीले बगाएको छ । उहाँका अनुसार करिब रु.पाँच लाख बराबरको क्षति भएको छ ।

गाेरखापत्र अनलाइन