/एन्फाले कार्यसमिति बैठक बोलायो, बैठकका लागि २३ भन्दा धेरै एजेण्डा तय

एन्फाले कार्यसमिति बैठक बोलायो, बैठकका लागि २३ भन्दा धेरै एजेण्डा तय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमिति बैठक बोलाएको छ ।

वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो । एन्फा हेडक्वार्टर सातदोबाटोमा २५ गते बिहान ९ बजे बस्ने बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ ।

बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ । एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्नेलगायतका एजेण्डाबारे बैठकमा छलफल हुनेछ ।

यस्तै, अवकास प्राप्त कर्मचारीको उपदान रकम उपलब्ध गराउने, खेलाडी दर्ता नियमावली संशोधन प्रक्रिया अघि बढाउने, विधान संशोधनको प्रस्तावना मस्यौदा, एन्फाको कृत्रिम घाँसे खेल मैदानमा ट्रेसिङ्ग फ्लडलाइट जडान, फुटसल र बीच फुटबल प्रतियोगिता आयोजनालगायत विषयमा पनि छलफल हुनेछ  ।

यसैगरी नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षक, अनुशासन, कोभिड–१९ रिलिफ फण्डलगायतबारे पनि एन्फाले छलफल गर्दै छ ।