/हुम्लामा जिप दुर्घटना, चार जनाको ज्यान गयो सात घाइते

हुम्लामा जिप दुर्घटना, चार जनाको ज्यान गयो सात घाइते

हुम्लाको सिमकोट गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ ।

राति ११ बजे लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् | 

दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ | 

हुम्लाका प्रहरी नायब उपरीक्षक सुवेदीका अनुसार  मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नं २ का २९ वर्षीय पारस बोहरा त्यस्तैगरी  नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेका छन् |

 घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्   । घाइतेहरु सबैको  हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा  मूल सडकबाट करिब ६०० मिटर तल खसेको थियो | 

दुर्घटना केकति कारणले भयो भनेर अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ |