/पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व

पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व

राजतन्त्रको पक्षमा आज राजधानीको माइतीघरमा प्रर्दशन गरिएको छ ।

गणतन्त्र र संघीयताको विरुद्ध नाराबाजी गर्दै राजधानीमा विरोध प्रदर्शन गरिएको हो । राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा भएको प्रदर्शनमा राजसंस्था पुनःस्थापना तथा धार्मिक सापेक्षतासहितको राज्यको पक्षमा नारा लगाइएको थियो । पछिल्ला दिनहरुमा देशका विभिन्न शहरमा पनि राजाको पक्षमा लगातार प्रदर्शन हुँदै आएका छन् ।

शनिबार  माइतीघर मण्डलाबाट शुरु भएको जुलुस नारा लगाउँदै नयाँ बानेश्वरसम्म पुगेको थियो । आजको प्रर्दशनमा नागरिकतन्त्रसहितको राजसंस्था र धर्म सापेक्ष राज्य माग गरिएको छ ।प्रर्दशनकारीहरुले संघीयताको विकल्प खोजिनु पर्ने र अबको विकल्प नागरिक सरकार जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । अधिकांश प्रर्दशनकारीहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।

प्रदर्शनमा विभिन्न झाँकी समूह पनि सहभागी थिए । उनीहरुले राजा आऊ, देश बचाउ लगायतका नारा लगाएका छन् । उक्त प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि सर्मथन रहेको छ ।

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्याली समेत भएको छ ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा पनि चर्का नाराबाजी गरिएको छ । पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ ।