/अहिलेको अवस्थामा ओली-प्रचण्ड मिल्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

अहिलेको अवस्थामा ओली-प्रचण्ड मिल्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

मङ्सिर २४, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दहाल (प्रचण्ड) मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

लमजुङमा उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरा कालोपत्रे सडकको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले दुईअध्यक्ष ओली र प्रचण्ड मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको हो । सडकको लागत २६ करोड २९ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ भने २ वर्षभित्र सम्पन्न हुने भएको छ ।

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

यो सरकारलाई जनताले पाँच बर्षको लागि म्याण्डेट दिएका छन । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न हुनै सक्दैन’, भन्दै उहाँले थप्नु भयो, ‘एकताको मर्म भनेको दुवै अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढदै पार्टी एकताका बाँकी काम सम्पन्नगरी महाधिवेशन गर्नुपर्छ ।’

कार्यक्रममा गण्डकी प्रदेशसभाका नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याललगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।