/पूर्व अख्तियार प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

पूर्व अख्तियार प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

काठमाडौं– विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई जेल चलान गरेको छ ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गामा नक्कली मोही र नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा पारेर हिनामिना गरेको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो ।

अभियुक्त बस्न्यातसँग आजै अदालतले बयान लिएको थियो । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान तथा नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको हो ।

अभियुक्त बस्न्यातले आवास मन्त्रालयको सचिव रहँदा बालुवाटारको अर्बौं रुपैयाँ मूल्यको सरकारी जग्गा व्यक्तिको बनाउन प्रमुख भूमिका बहन गरेको अभियोग छ ।

अभियुक्त बस्न्यातलाई डिल्लीबजार कारागारमा राखिएको छ । उक्त मुद्दामा १ सय ७५ जना प्रतिवादी रहेकामा प्रारम्भिक बयान लिइएकामा बस्न्यात ९७ औं भएको अदालतका प्रवक्ता पाण्डेले बताउनुभयो ।

अदालतको पालो अनुसार १ वा डेढ महिनामा बस्न्यातको साधारण तारेखको वालो आउन सक्ने पनि प्रवक्ता पाण्डेले जानकारी दिनुभएको छ ।