पुष ५, सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।
शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यता विज्ञहरू पीसीआर परीक्षणको संख्या र दायरा बढाउँदा मात्र गुणात्मक रूपले मुलुकमा भएको संक्रमणको वास्तविकता थाहा हुने बताउँछन् । हालसम्म कोभिडका लागि गरिएको १८,६६,२१० पीसीआर परीक्षणमध्ये २,५३,१८४ नमुना पोजिटिभ देखिँदा हालको संक्रमण दर १३.५६ प्रतिशत देखिएको छ ।
त्यस्तै देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् ।
त्यसैगरी एक सातायता मुलुकको दैनिक औसत कोभिड संक्रमण दर १३.९८ प्रतिशत छ । सातायता दैनिक औसत ५ हजार ७ सय ६४ नमुनाको मात्र पीसीआर परीक्षण हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार शनिबार देशभरका ४५ सरकारी र ३५ निजी गरी कुल ८० वटा प्रयोगशालामा ४ हजार ७ सय ८० पीसीआर परीक्षण भएकामा ७ सय १० जनामा संक्रमण देखिएको छ ।