/भारतको खोपमा नेपाललाई प्राथमिकता

भारतको खोपमा नेपाललाई प्राथमिकता

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ ।

सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् ।

‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।

भेटमा राजदूत आचार्यले खोप विकासको पछिल्लो अवस्था, उत्पादन र वितरण सम्बन्धमा चासो राखेका थिए । भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । केही मुलुकले खोप प्रयोगलाई अनुमति दिइसकेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।