/प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

 नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रदेश नं. १ को प्रदेश सभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । संसदीय दलका ३७ जना बहुमत सदस्यको हस्ताक्षरसहित निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।

उहाँहरुले प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीलाई अविश्वास प्रस्ताव बुझाउनुभएको हो । बहुमत सदस्य आफ्ना पक्षमा रहेकाले वर्तमान सरकार अल्पमतमा परेको र संसदीय दलको नेताका रुपमा भीम आचार्यलाई चयन गरिएको समेत अविश्वासको प्रस्तावसँगै उल्लेख छ ।

अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सांसद इन्द्र आङ्बोले संघीय सरकारले गरेको निर्णयलाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले नेकपा ओली समूहसँग प्रदेश सरकार गठनमा सहकार्य नहुने जानकारी दिनुभयो ।

यसैगरी सांसदहरुको टोलीले प्रदेश सभामुख प्रदीप भण्डारीलाई पनि हस्ताक्षर सहितको अविश्वास प्रस्ताव हस्तान्तरण गर्दै छिटो भन्दा छिटो प्रक्रियामा लगेर राजनैतिक गतिरोध अन्त्य गरिदिन आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा

प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिनुभएको हो ।
नेकपाभित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।