पुष १७, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुँदैछ ।
अधिबेशन आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने भएको हो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन आह्वान गर्नुभएको हो ।
यी हुन् सम्भावित कार्यसूची
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।
यसैगरी प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी तथा प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लीम्बुको निधनमा शोकप्रस्ताव प्रस्तुत हुने सभाका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा (पुष्पकमल दाहाल- माधवकुमार नेपाल) समूह, कांग्रेस र जसपाले उक्त कदमको विरोध गरेका छन् । नेकपा (दाहाल-नेपाल) समूहले राष्ट्रियसभाको अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको छ ।
विपक्षी कांग्रेस र जसपाले पनि संसद् विघटनलगायतका मुद्दामा राष्ट्रिय सभामा बलियो उपस्थिति जनाउने तयारी गरेको छ । यद्यपी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर सदनमा छलफल हुन नसक्ने कानुनी व्यवस्था छ । त्यहीकारण संसद विघटनबारे छलफल नहुने बताइन्छ । सर्वोच्चले यो मुद्दाको निरुपण गरेपछि मात्रै छलफल अघि बढ्नेछ ।