/अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षा विधेयक रोक्न प्रयोग गरेको भिटो खारेज

अमेरिकी राष्ट्रपति ट्रम्पले रक्षा विधेयक रोक्न प्रयोग गरेको भिटो खारेज

पुष १८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ ।

सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्नुभएको थियो । तर सदनले भिटो रद्द गरिदिएको बीबीसीले जनाएको छ । 

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो । 

दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो ।

ट्रम्पको चार वर्षे कार्यकालमा उहाँको भिटो संसदले पहिलोपटक रद्द गरेको हो । सदनले ट्रम्पको भिटो अवहेलना गर्नेसम्बन्धी पक्षमा मत दिएको खबरमा उल्लेख छ । 

डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो भने रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो ।