कोरोना भाईरस (कोभिड – १९) संक्रमण जोखिमका कारण गत बर्ष चैत देखि बन्द गरिएका विद्यालयहरु खोल्न कोभिड रोकथाम सम्बन्धी उच्च स्तरीय निर्देशक समितिले प्रस्ताव गरेको छ । विद्यालय सहित सिनेमा हल, जिमखाना लगायत अहिले सम्म बन्द रहेका क्षेत्रलाई खोल्ने प्रस्ताव समितिले गरेको छ ।
सत्ताधारी दल भित्रको किचलोका कारण दिनहुँ जसो भईरहेका सडक प्रदर्शन र भेलाहरुले कोरोनाको जोखिम थप बढाएको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता जाहेर गरिरहेका छन् ।
आईतबार बसेको समितिको बैठकले जोखिमलाइ हेरेर बन्द गर्ने अधिकार पनि जिल्ला स्थित कोभिड -१९ संकट व्यवस्थापन केन्द्रलाई दिन सकिने प्रस्ताव समेत गरेको छ ।
जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने अधिकार पनि जिल्लालाई नै दिने गरी प्रस्ताव गरिएको जनाईएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतका अनुसार सरकारले यस अघि गरेको निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरु खोल्ने प्रस्ताव गरिएको हो ।
कोभिड संक्रमणका कारण अस्तब्यस्त बनेको शैक्षिक कृयाकलापलाई सही बाटोमा ल्याउन र सिकाइ निरन्तर राख्न शुरु देखि नै सरकार असक्षम रहेको भन्दै आलोचना हुँदै आईरहेको छ ।
उक्त प्रस्ताव मन्त्रीपरिषद् बैठकले अनुमोदन गरे पछि लागू हुने छ ।