/भारतका विभिन्‍न राज्यमा देखियो बर्ड फ्लु

भारतका विभिन्‍न राज्यमा देखियो बर्ड फ्लु

पुष २१,  भारतमा यतिबेला विभिन्न पाँच राज्यमा बर्ड फ्लु देखिएको छ । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । 

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । 

भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले आरक्षका प्रमुख संरक्षक अर्चना शर्मालाई उद्धृत गर्दै त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको जनाएको छ ।

त्यसैगरी काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ । 

गत साता दिल्ली छेउको हरियाणाको बरवालामै एक लाखभन्दा बढी कुखुरा, हाँसलगायतका पंक्षी बर्ड फ्लुकै कारण मरेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।