वायु प्रदूषणले बिग्रिएको काठमाडौँ लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै रहेको बताइएको छ ।
सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिनुभयो । उहाँले अझै सतर्कता अपनाउन पनि सुझाव दिनुभयो ।
पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो । कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्छ । योभन्दा सात गुणा ठूलो पीएम १० माइक्रोग्राम प्रतिघनमिटरको कण भने आगो बाल्दा वा घर भत्काउँदा निस्कने कण जत्तिको हुन्छ । रौँ जत्रो कण भने ७० माइक्रोग्राम प्रतिघनमिटरको धुलोको कण हो । हाल वायुमा रहेको धुलोको कणमा भने सबैथरिको मिश्रण रहेको पाइएको छ ।
त्यसको विश्लेषण विभागले गरिरहेको जनाएको छ । बुधबार बिहानैदेखि बादल हटेर हावा चल्न थालेकाले प्रदूषणयुक्त वायु तल्लो तहबाट माथितिर उक्लन थालेको हो तर हावाको वेग राम्रो नरहेकाले उपत्यकाको डाँडाछेउमा छेको लागेर तुवाँलोको रूपमा प्रदूषणयुक्त वायु बसिरहेको छ ।
काठमाडौँसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ ।
विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौँको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।