/प्रधानमन्त्री ओलीले पदकै लागि पार्टी फुटाएको प्रचण्डको आरोप

प्रधानमन्त्री ओलीले पदकै लागि पार्टी फुटाएको प्रचण्डको आरोप

पौष २८, नेपाल कम्युनिस्ट पार्टी  नेकपा प्रचण्ड – नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि पार्टी फुटाएको आरोप  लगाएका  छन्। उनले पोखरामा मंगलबार आयोजित भेलामा यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले अधिकार नभएको कदम चालेको समेत  दाबी गरेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा  ओलीमा इमान्दारिता नरहेको आरोप समेत लगाएका छन् । 

पार्टीभित्रको विवादलाई मात्रै लिएर ओलीले संसद् विघटन गरेको आरोप लगाए। ‘पार्टीमा विवाद रहन्छ। विवाद भएन भने पार्टी नै हुँदैन। तर फुटाउनु हुँदैन ।’ उनले भने, ‘पार्टीभित्र बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ भन्ने निर्णयमा ओलीको हस्ताक्षर भएको छ।’ 

पार्टी एकता भनेर मात्रै पनि नहुने भन्दै  पार्टीभित्रका  गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसकेमा सोभियत संघजस्तो हुने पनि उनको  भनाइ थियो।