माघ २, सरकारले नागरिक एप प्रयोगमा ल्याएको छ । सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गर्दै सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याइएको बताउनुभयो ।
नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।
नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।