एजेन्सी ,
इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुलावेसी द्वीपको मामुजु सहरमा मात्र यस भूकम्पका कारण ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्र माजेनेमा भूकम्पको कारण ८ जनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।
उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पतालका कर्मचारी गरी दसजनाभन्दा बढी जना पुरिएका अनुमान गरिएको छ ।
बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका ६ सयभन्दा बढी घाइते भएका जनाइएको छ । साथै १५ हजारभन्दा बढी विस्थापित भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन बोर्डले जनाएको छ ।
भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त नभैसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।