/कोभिड–१९ विरुद्धको प्रतिरोधक क्षमतामा खोपले कस्तो प्रभाव पार्ला त , पहिलो दिनको खोपमा असर कस्तो पर्यो ?

कोभिड–१९ विरुद्धको प्रतिरोधक क्षमतामा खोपले कस्तो प्रभाव पार्ला त , पहिलो दिनको खोपमा असर कस्तो पर्यो ?

सामान्यतया खोप लगाएको दुई महिनापछि संक्रमणसँग लड्ने क्षमताको विकास भएको अनुसन्धानले देखाए पनि त्यसले कहिलेसम्म काम गर्छ भनेर थप अनुसन्धान हुन बाँकी छ ।

सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा जारी पछिल्लो तथ्यमा कोभिसिल्डको सुरक्षा अवधिबारे यकिन गरिएको छैन । यो खोपको दोस्रो मात्रा प्राप्त गरेको चार सातापछि सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्ने जनाइएको छ । 

औषधि व्यवस्था विभागबाट ससर्त आपत्कालीन उपयोग अनुमति पाएको अक्सफोर्ड–एस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्डियाले कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ । यो खोप ०.५ एमएलको दुई मात्रा लगाइन्छ । सिरमका अनुसार खोपको पहिलो मात्रा लिएको ४ देखि ६ साताभित्र अर्को मात्रा लिनुपर्छ । तर पहिलो मात्रा लिएको १२ सातासम्म पनि दोस्रो मात्रा लिन सकिने विदेशमा भएका विभिन्न अध्ययनले देखाएका छन् ।

 बुधबार खोप लगाएकाहरू कसैलाई जटिल प्रतिकूल असर नदेखिएको बताइएको छ  । 

केहीमा वाकवाकी लाग्ने र खोप लगाएको ठाउँमा रातो हुनुबाहेक प्रतिकूल असर नदेखिएको बताइएको छ  । खोप लगाएका १० मध्ये एक जनामा सामान्य प्रतिकूल असर देखिन सक्ने चिकित्सकहरूको भनाइ छ  ।