/फेरी पनि घुमेर आएको माघ १६

फेरी पनि घुमेर आएको माघ १६

आज माघ १६ गते  सहिद दिवस फेरी पनि  घुमेर आइपुगेको छ । नेपाल र नेपालीहरुले प्रत्येक वर्ष माघ १६ लाई ‘सहिद दिवस’का रूपमा धुमधामसँग स्मरण गर्ने गर्दछन । 

 

यो लेख सरकारको उक्त दिवस मनाउने पृष्ठभूमि र कारण होइन, सहिदको अर्थ, मर्म र अभ्यासमाथि थोरै प्रकाश पार्ने तर्फ  लक्षित छ । 

देश र जनताका लागि आफ्नो ज्यान उत्कर्ष गर्ने ती सबै ज्ञात अज्ञात सहिदप्रति हामी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ ।  त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।

 विसं २०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गरियो भनेर  सर्वसाधारणको गुनासो छ ।

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते सहिद दिवस मनाइन्छ तर हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक नभेटिए पनि पछिल्लो पटक सरकारले यही गत बर्षसम्म  विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई सहिद घोषणा गरेको गृह मन्त्रालयको तथ्यांकमा भेटिन्छ । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई सहिद घोषणा गरेको थियो । त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई सहिद घोषणा गरेको बताइन्छ ।

देशमा  पछिल्लो पटक भने  झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले बढेकाले  वास्तविक सहिदको भावनामा ठेस  पुगेको देखिन्छ । आवश्यक मापदण्डबिना हचुवाका भरमा सहिद घोषणा गर्दा वास्तविक सहिदप्रति अपमान भएको सहिद परिवारको गुनासो छ । यसरि हेर्दा राज्यले   सहिदसम्बन्धी मान्यताको राज्यस्तरीय परिभाषा राजपत्रमार्फत ऐनकै रूपमा जारी गरी उक्त मापदण्डभित्र पर्ने उच्च योगदान भएका महान व्यक्तिहरूलाई मात्र सहिदको श्रेणीमा राखी तिनको मान सम्मान पनि सोही अनुसारको विशिष्ट ढङ्गबाट गरिने परिपाटी बनाउनु उचित देखिन्छ ।

 पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनिहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।

विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।

आन्दोलनमा लागेर जो मरेर गए ती त गईसके। यो विज्ञानले तिनको भौतिक संरचनालाई उस्तै बनाउन त सकिदैन तर, शहीद अमर हुनु भनेको उनीहरूको बिचार र भावनाको कदर हुनु हो भन्ने सबैले बुझ्नु जरुरी छ । तिनले देखाएको बाटोमा अघि बढ्नु शहीदलाई श्रद्धा गर्छु भन्नेहरूको कर्तव्य हो । कदाचित देश र जनताका लागि कुनै न कुनै ढंगले उल्लेख्य योगदान गर्दै अमरत्व प्राप्त गर्ने केही महान व्यक्तिहरू सहिदको पंक्तिबाट छुट्ने अवस्था नहोस भन्ने मेरो भनाइ हो ।