/प्रधानमन्त्री र राष्ट्रपति द्वारा सहिदहरुको सम्झना ,समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको दाबि

प्रधानमन्त्री र राष्ट्रपति द्वारा सहिदहरुको सम्झना ,समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको दाबि

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए ।

सन्देशमा उनले भनेका छन्, “हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ । “सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”,

 “हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।” उनले भने ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनकी छन्, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”

शहीद दिवसले हामीहरुलाई शहीदले गरेको  सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भनकी छन्, “शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।”

हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउने गरिएको छ ।