/कक्षा ११ र १२ मा सामाजिक र गणितमध्ये एक रोज्न पाइने

कक्षा ११ र १२ मा सामाजिक र गणितमध्ये एक रोज्न पाइने

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय रोज्न पाउने भएका छन् ।

 

यसअघि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई मात्र अनिवार्य विषयका रूपमा राखिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले सो निर्णय गरेको जानकारी  दिए।

यसअघि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई खारेज गर्न माग गरी दायर रिट गत पुस २८ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । गणितलाई अनिवार्य गर्नुपर्ने माग रिटमा गरिएको थियो । सर्वाेच्च अदालतले यस विषयमा पुनः विचार गर्न निर्देशनात्मक आदेश दिएको र सोका आधारमा यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

कक्षा ११ मा यस पटकबाट नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यस पटकबाट विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषयअध्ययन गर्नुपर्नेछ । गोरखापत्र दैनिकमा खबर छ ।