/माउण्ट केटू आरोही सम्मानित

माउण्ट केटू आरोही सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलेसगरमाथाको आँगनमा हुर्केका नेपाली हिमआरोहीले विश्वको दोस्रो अग्लो हिमाल हिँउदमा पहिलोपटक आरोहण गरेर विश्व कीर्तिमान राख्नु राष्ट्रकै गौरव भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार राजधानीमा आरोहीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, “विश्वकै कठिन हिमाल आरोहणमा नेपाली आरोहण दलको सफलता निकै खुशीको क्षण हो । शाहसिक र मुलुकको प्रतिष्ठा राख्ने कार्यप्रति सरकारको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु ।”उहाँले हिमालको माटोमा जन्मेका हिमपुत्रहरुले दोलखा र नेपालकै नाम विश्व कीर्तिमानमा लेखाएको चर्चा गर्नुभयो ।
सरकारका प्रवक्ता गुरुङले कोभिडका कारण खस्कदो नेपालको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउने विषयमा सम्बद्ध सरोकार पक्ष र पर्यटन व्यवसायीले योजना बनाउन आग्रह गर्नुहुँदै त्यसमा सरकारले साथ दिने बताउनुभयो ।
उहाँले हिमाल आरोहणमा विश्व रेकर्ड राख्ने गाउँ बेदिङमा बसेर पर्यटन प्रवद्र्धन गर्न सकिने गरी इन्टरनेटको पहुँच विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले दोलखाका सबै गाउँपालिकासम्म कालोपत्रे सडक पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै नमूना दोलखा, समृद्ध दोलखा बनाउन नागरिकको साथ सहयोग अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बागमती प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले हिउँदमा पहिलोपटक माउण्ट केटू आरोहण गरेर नेपाली आरोहण दलले विश्वमा नेपालको नाम उच्च बनाएको बताउनुभयो ।
उहाँले नेपाली आरोहण दलले माउण्ट केटू आरोहण गरेर नेपाल पाकिस्तानबीचको पर्यटन सम्बन्धलाई समेत बलियो बनाउन सघाएको बताउनुभयो ।
सम्मानित आरोही मिङ्मा ग्याल्जे शेर्पाले हिउँदको समयमा पहिलोपटक माउण्ट केटू नेपाली दलले आरोहण गरी विश्व रेकर्ड राखेको चर्चा गर्नुहुँदै भन्नुभयो, “जीवनको अविस्मरणीय क्षणको रुपमा लिएको छु ।”
उहाँका अनुसार, आठ हजारभन्दा बढी उचाईका विश्वका १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् । यद्यपि, पहिलोपटक आरोहणको विश्व रेकर्ड माउण्ट केटूमा नेपालले राख्न सफल भएको छ ।उहाँले भन्नुभयो, “विश्व रेकर्ड भएकाले आरोहण दलका १० जना नै एकैपटक चुचुरोतर्फ गएका थियौं । मौसमले पनि साथ दियो । यो हामी सबैको नाममा विश्व रेकर्ड हो ।”

यसैगरी, आरोहण दलका संयोजक निर्मल पुर्जाले सरकारका तर्फबाट सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विश्वको दोस्रो अग्लो हिमाल ‘माउण्ट केटू’ आरोहीहरुलाई राजधानीमा कार्यक्रमगरी सम्मान गरेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आरोहीहरुलाई सम्मान प्रदान गर्नुभएको थियो । हिउँदको समयमा माउण्ट केटू हिमाल आरोहण गर्न निकै कठिन मानिन्छ । नेपाली आरोहण दलले पहिलोपटक हिउँदको समयमा सो हिमाल आरोहण गर्न सफल भएको हो ।
सोही अवसरमा दोलखाको गौरीशंकर गाउँपालिकाले समेत आरोहीहरुलाई सम्मान प्रदान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा आरोहण दलका प्रमुख निर्मल पूर्जा, मिङ्मा ग्याल्जे शेर्पा, किली पेम्मा शेर्पा, दावा तेन्जिन शेर्पा, पेमछिरी शेर्पा, ग्याल्जे शेर्पा, मिङ्मा तेन्जी शेर्पा, दावा तेम्बा शेर्पा, सोना शेर्पा र मिङ्बा ग्यावु शेर्पा हुनुहुन्छ । यसैगरी, सोही अवसरमा आरोहण दलका चारजना दोलखाली आरोहीलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दोलखा काठमाडौँ सम्पर्क मञ्च र गौरीशंकर गाउँपालिका वडा नम्बर ९ ले समेत सम्मान प्रदान गरेको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाललगायतको उपस्थिति रहेको थियो ।गोरखापत्र