/खाेप अभियान : दशाैँ दिनसम्ममा लक्ष्यकाे ४० प्रतिशतभन्दा कमलाई खाेप

खाेप अभियान : दशाैँ दिनसम्ममा लक्ष्यकाे ४० प्रतिशतभन्दा कमलाई खाेप

सरकारले पहिलो चरणको काेराेना भाइरसविरुद्धकाे खोप अभियानको दशौँ दिनसम्ममा लक्ष्यको ४० प्रतिशतभन्दा कम मानिसलाई मात्र खोप लगाएको छ ।

खोप अभियान सुरु गर्दा सरकारले १० दिनभित्र देशभर तीन सयभन्दा धेरै खोप केन्द्रमार्फत चार लाख ३० हजारलाई पहिलो चरणको खोप दिने घोषणा गरेको थियो । तर अहिलेसम्म देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम भएको छ । १० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्यसहित माघ १४ गतेदेखि सुरु भएको खोप अभियानको दशौँ दिन शुक्रवारसम्ममा एक लाख ७१ हजार चार सय ८६ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नाै जनाले खोप लगाएका छन् ।