/ट्रायलमा फेल भए पनि लाइसेन्स निकालिदिने भनी पैसा असुल्ने ड्राइभिङ स्कुल संचालक पक्राउ

ट्रायलमा फेल भए पनि लाइसेन्स निकालिदिने भनी पैसा असुल्ने ड्राइभिङ स्कुल संचालक पक्राउ

 सवारी चालक अनुमति पत्र निकालिदिने भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना पुरुषलाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका— १४ चाउथेमा मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट सेन्टर प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका ४९ वर्षीय पुरुष सवारी चालक अनुमति पत्र निकालिदिने भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएको आरोपमा पक्राउ परेका हुन्  ।

विभिन्न व्यक्तिहरूलाई आफ्नो चिनजान यातायात कार्यालयको कर्मचारीहरूसँग रहेकोले लिखित परीक्षा तथा ट्रायलमा फेल भएमा पनि सजिलै लाइसेन्स निकालिदिने भनी पैसा उठाएका पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले गत माघ २२ गते पक्राउ गरेको हो।